राष्ट्रपतिको आह्वान : विपत्तिको बेला आरोप–प्रत्यारोप होइन, राष्ट्रिय एकता आवश्यक

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रपतिको आह्वान : विपत्तिको बेला आरोप–प्रत्यारोप होइन, राष्ट्रिय एकता आवश्यक

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी बाढीपहिरोपछि मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै राजनीतिक दलदेखि आम नागरिकसम्मलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले दोषारोपण र राजनीतिक विवादमा अल्झिने समय नभएको बताए। विपद्को सामना गर्न राष्ट्रिय एकता, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको उनको भनाइ थियो।

गत भदौ १० गते हिमनदीको बरफ तथा चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई उनले अत्यन्त भयावह प्राकृतिक विपत्तिका रूपमा चित्रण गरे। बाढीले ठूलो मानवीय क्षतिसँगै घर, सडक, पुल, जलविद्युत् आयोजना लगायत महत्वपूर्ण राष्ट्रिय पूर्वाधारमा अकल्पनीय क्षति पुर्‍याएको उनले बताए।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे। विपत्तिमा विदेशी नागरिकले समेत ज्यान गुमाएको उल्लेख गर्दै उनले उनीहरूप्रति पनि दुःख व्यक्त गरे।

राष्ट्रपति पौडेलले विपद्को समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी तथा स्वयंसेवकको प्रशंसा गरे। उनीहरूको साहस र सेवाभावले नेपालको मानवीय चरित्रलाई उजागर गरेको राष्ट्रपतिको भनाइ थियो।

भौगोलिक कठिनाइका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता नागरिकको खोजीलाई निरन्तरता दिन उनले सरकारको ध्यानाकर्षण गराए।विस्थापितलाई आधारभूत सुविधा दिन आग्रह गरे । राष्ट्रपतिले बाढीबाट विस्थापित नागरिकका लागि तत्काल खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार र सुरक्षित आश्रयको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिलालाई विपद्को समयमा विशेष संरक्षण आवश्यक रहेको भन्दै उनले त्यस्ता समूहको सुरक्षामा प्राथमिकता दिनुपर्ने बताए । त्यस्तै, बाढीपहिरोमा ज्यान गुमाएकाहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत वैज्ञानिक विधि प्रयोग गर्न पनि उनले सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रपति पौडेलले हिमनदी फुट्ने तथा हिमपहिरो जाने घटनालाई विश्वव्यापी तापक्रम वृद्धिसँग जोड्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। नेपालजस्ता हिमाली मुलुक जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेको उल्लेख गर्दै उनले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायले ठोस कदम चाल्नुपर्ने बताए।

उनका अनुसार पछिल्लो विपत्तिले नेपालको हिमाली पर्यावरण कति संवेदनशील अवस्थामा पुगेको छ भन्ने स्पष्ट पारेको छ। राष्ट्रपति पौडेलले विपत्तिपछिको पुनर्स्थापना र पुनर्निर्माणलाई केवल क्षतिग्रस्त संरचना निर्माणमा सीमित गर्न नहुने बताए।

नेपालले अवलम्बन गर्दै आएको विकास मोडलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले आगामी दिनमा जोखिम न्यूनीकरणलाई विकास योजनाको अभिन्न हिस्सा बनाउनुपर्ने धारणा राखे।

विगतका भूकम्प र महामारीमा नेपाली जनताले देखाएको धैर्य र साहस स्मरण गर्दै राष्ट्रपति पौडेलले यसपटक पनि विपत्तिलाई सामूहिक प्रयासबाट पार गर्न सकिने विश्वास व्यक्त गरे। उनले राष्ट्रिय पुनरुत्थानका लागि राजनीतिक दल, सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैलाई एक ठाउँमा उभिन आग्रह गरेका छन्।