प्रधानमन्त्री शाहले असोज ८ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रधानमन्त्री शाहले असोज ८ गते  राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका जाने भएका छन्।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार उनी महासभामा सहभागी हुन न्यूयोर्क जाने तयारीमा छन्। उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। महासभाको उच्चस्तरीय सत्रलाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने तय भएको छ।

सम्बोधनका क्रममा उनले नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको संकट तथा हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन्। रसुवा र नुवाकोटलगायत क्षेत्रमा भोटेकोसी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले राष्ट्रसंघ महासभामा सहभागी भएर जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने आवाज बलियो बनेको थियो।

नेपालमा पछिल्लो समय हिमाली क्षेत्रमा हिमपहिरो, हिमनदी पग्लने तथा बाढीपहिरोजस्ता विपद्का घटना बढ्दै गएको भन्दै जलवायु परिवर्तनको असरबारे विश्व समुदायलाई थप गम्भीर बनाउनुपर्ने माग उठेको थियो।

यही पृष्ठभूमिमा प्रधानमन्त्री आफैँ महासभामा सहभागी भएर नेपालको जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई जानकारी गराउने तयारीमा छन्। यसअघि संयुक्त राष्ट्रसंघ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तयारी थियो।

तर, भोटेकोसी बाढीपछि विकसित परिस्थितिका कारण प्रधानमन्त्रीकै तहबाट जलवायु न्याय र विपद्का विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवाज बढेपछि शाहको भ्रमण तय भएको हो। प्रधानमन्त्री शाहले महासभामा नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकले भोग्नुपरेका क्षति, विकसित मुलुकको दायित्व तथा जलवायु न्यायको आवश्यकता लगायत विषय उठाउने तयारी गरेका छन्।

नेपालले जलवायु परिवर्तनमा आफ्नो योगदान न्यून भए पनि त्यसको असर भने असमान रूपमा भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ।