जेनजी आन्दोलनका मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा भएन : तनुजा पाण्डे

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी आन्दोलनका मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा भएन : तनुजा पाण्डे

काठमाडौ । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आन्दोलनले उठाएका आधारभूत मागमध्ये एउटा पनि पूर्णरूपमा पूरा नभएको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले भ्रष्टाचारविरुद्ध, पारदर्शिता र जवाफदेहिताका लागि सुरु भएको आन्दोलनले सत्ता परिवर्तन गरे पनि त्यसका मूल प्रश्न अझै अनुत्तरित रहेको बताएकी हुन्।

उनले आन्दोलनका क्रममा उठेका विभिन्न प्रश्नलाई ११ बुँदामा प्रस्तुत गर्दै ती प्रश्नको जवाफ र न्याय अझै प्राप्त नभएको उल्लेख गरेकी छन्।

पाण्डेले आन्दोलनका क्रममा २३ गते वा २४ गते भएको घटनालाई लिएर हुने बहसमा मात्र सीमित हुन नहुने बताएकी छन्। उनका अनुसार दुवै दिन राज्य र भीडबाट नेपाली नागरिकको ज्यान गएको विषयमा सत्य र जिम्मेवारीको खोजी हुनुपर्छ।

उनले भनिन्, ‘सत्य र जिम्मेवारीको प्रश्नलाई पन्छाएर बहसलाई फेरि मितिको विवादमा सीमित गर्नु भनेको जनताको पीडा र ज्यानप्रति बेवास्ता गर्नु हो।’ पाण्डेले जेनजी आन्दोलनले उठाएका प्रश्नको जवाफ आफू अझै पर्खिरहेको बताउँदै न्यायको प्रतीक्षामा रहेको उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘आज पनि म यी सबै उत्तरविहीन प्रश्नहरूको जवाफको पर्खाइमा छु, आज पनि म न्यायको पर्खाइमा छु।’