जेनजी आन्दोलन ‘हाइज्याक’ गर्नेहरूको प्रभावमा सरकार चलेको एमाले महासचिव पोखरेलको आरोप
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार जेनजी आन्दोलनको वास्तविक भावना र मागअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना तथा प्रभावमा चलेको आरोप लगाएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा जारी गरेको वक्तव्यमा पोखरेलले मृतकप्रति श्रद्धाञ्जली तथा घाइते र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।
उनले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, सहज सेवा प्रवाह र सामाजिक सञ्जालको निर्बाध प्रयोगजस्ता मागलाई जायज र साझा सरोकारका विषय भएको बताएका छन्।
सामाजिक सञ्जालको विषयमा तत्कालीन सरकारले प्रतिबन्ध नभई नियमनका लागि दर्ताको नीति अघि सारेको भए पनि त्यसबारे स्पष्ट रूपमा बुझाउन नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको पोखरेलको विश्लेषण छ।
उनले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाइएको दाबी गर्दै त्यसका योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
पोखरेलले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीहरूको पहिचान गरी उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु नै जेनजी आन्दोलनको वास्तविक भावनाको सम्मान गर्नु हो।’
उनले एमाले नवयुवाका जायज माग सम्बोधन गर्ने पक्षमा रहेको दाबी गर्दै विगतमा युवाका भावना र माग सम्बोधन गर्ने क्रममा कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
देशमा सुशासन र विधिको शासन स्थापित गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै पोखरेलले नवयुवाका जायज माग सम्बोधन गर्न एमाले सधैँ तत्पर रहने बताएका छन्।







