जेनजी शहीद दिवसमा अमेरिका, बेलायत र जापानको शुभकामना, भारत–चीन–रुस मौन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गत २३ भदौको जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले घोषणा गरेको जेन–जी विद्रोह शहीद दिवसका अवसरमा अमेरिका, बेलायत, जापानलगायत विभिन्न देशले शुभकामना तथा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपालस्थित अमेरिकी दूतावासले जेन–जी शहीद दिवसका अवसरमा शुभकामना दिँदै नेपाली युवाको समृद्ध र आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको छ। दूतावासले भनेको छ, ‘नेपालका युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गर्दछौँ।’
त्यस्तै, नेपालस्थित बेलायती दूतावासले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका आफन्त तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ। जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाको पक्षमा विज्ञप्ति जारी गर्ने अमेरिका, बेलायतलगायत देशहरूको समूहको सदस्य जापानी दूतावासले पनि शहीद दिवसका अवसरमा शुभकामना दिएको छ।
जापानी दूतावासले भनेको छ, ‘नेपाली युवापुस्ताको आशा र आकांक्षाहरू बिर्सिइने छैन।’ तर, गत वर्षको जेन–जी विद्रोहका क्रममा राजनीतिक रूपमा सक्रिय अभिव्यक्ति नदिएका भारत, चीन र रुसलगायतका देश भने शहीद दिवसका अवसरमा मौन देखिएका छन्।
यो समाचार तयार पार्दासम्म भारतीय दूतावासले सामाजिक सञ्जाल तथा सार्वजनिक वक्तव्यमा बाढीसम्बन्धी विषयलाई मात्र उल्लेख गरेको छ। चिनियाँ दूतावासले पनि जेन–जी शहीद दिवसबारे कुनै धारणा सार्वजनिक गरेको छैन। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका विषयमा सक्रिय देखिएको रुसी दूतावासले समेत यसबारे केही बोलेको छैन।
गत वर्ष जेन–जी विद्रोहका क्रममा भारतीय तथा रुसी सञ्चारमाध्यमका केही रिपोर्टमा आन्दोलनलाई ‘कलर रिभोलुसन’का रूपमा व्याख्या गरिएको थियो। चिनियाँ सञ्चारमाध्यम भने यस विषयमा तुलनात्मक रूपमा कम मुखर देखिएका थिए।
त्यसको विपरीत, अमेरिका, बेलायत, जापानलगायत पश्चिमी देशका सञ्चारमाध्यमले भने जेन–जी विद्रोहलाई ‘क्रान्ति’सम्मका संज्ञा दिएका थिए।







