रसुवा बाढी : १ हजार ३५७ जनाको मृत्यु, ५ हजारभन्दा बढी सम्पर्कविहीन

User Image Prime TV News १ हप्ता अगाडि
Image of रसुवा बाढी : १ हजार ३५७ जनाको मृत्यु, ५ हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि गरेको हो। प्राधिकरणका अनुसार विभिन्न स्थानबाट शव तथा मानव अङ्गहरू फेला परेका छन्।

जसमा चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्ग फेला परेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भएको र उनीहरूका आफन्तलाई शव बुझाइएको प्राधिकरणले जनाएको छ।

५ हजार ३२६ जना सम्पर्कविहीन

प्राधिकरणका अनुसार हालसम्म कुल ५ हजार ३२६ जना सम्पर्कविहीन छन्। रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी रहेका छन्।

त्यसैगरी, नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

१३ हजारभन्दा बढीको उद्धार

विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ। जसमध्ये नेपाली सेनाले ३ हजार ४०४, सशस्त्र प्रहरीले ३ हजार ९६ तथा विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत २४२ जना डिस्चार्ज भइसकेका छन्।

उद्धार कार्यका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। वायुसेवामार्फत उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान गरेका छन्।

३ हजार ५३३ जना होल्डिङ सेन्टरमा

विस्थापित नागरिकका लागि रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ।

सरकारले रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ वटा पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। यसैबीच, प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन तथा ४५७ सिलिन्डर ग्यास पठाइएको प्राधिकरणले जनाएको छ।

प्रभावित नागरिकको मनोसामाजिक परामर्शका लागि स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ। विद्युत् आपूर्तितर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भइसकेको प्राधिकरणले जनाएको छ।