जेनजीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनले कोरेको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने संकल्प गरेका छन्।
जेनजी आन्दोलनको पहिलो वार्षिकीका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले रचनात्मक खबरदारी तथा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गर्न आह्वान गरेका हुन्। ‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ संकल्प व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
लामिछानेले आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिनसमेत आग्रह गरेका छन्। ‘नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,’ उनले भनेका छन्।
स्वतःस्फूर्त रूपमा भएको जेनजी आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो संकुचित राजनीतिक लाभको औजार बनाउन नहुने लामिछानेले बताएका छन्। ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र, यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
लामिछानेले जेनजी आन्दोलनले उठाएका प्रश्न र आकांक्षालाई आत्मसात् गर्दै सुशासन, विधिको शासन र समतामूलक समृद्धिका लागि निरन्तर काम गर्नुपर्नेमा जोड दिएका छन्।







