कांग्रेसको १५औँ महाधिवेशन भृकुटीमण्डपमा हुने

User Image Prime TV News ६ दिन अगाडि
Image of कांग्रेसको १५औँ महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ।

महाधिवेशनका लागि असोज १६ देखि २० गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हल, बगैंचा तथा पार्किङस्थल बुकिङ गर्न कांग्रेसले पत्राचार गरेको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गलाई पत्र पठाउँदै प्रदर्शनी हल, पार्किङस्थल र बगैंचा बुकिङ गरिदिन आग्रह गरेका हुन्।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। कांग्रेसले यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। तर निर्धारित समयमा वडा अधिवेशन नहुने भएको छ।

मंगलबार सानेपामा बसेको बैठकले संशोधित कार्यतालिका ल्याउने तयारी गरेको छ। पूर्वनिर्धारित केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर तल्ला तहका अधिवेशनको कार्यतालिका संशोधन गर्ने कांग्रेसको तयारी छ।

देउवा पक्ष सहभागी हुने–नहुने अन्योल

१५औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी हुन्छ कि हुँदैन भन्ने अझै यकिन छैन।

पूर्वमहामन्त्री शशांक कोइरालालाई संयोजक बनाएर देउवा पक्षले १५औँ महाधिवेशन तयारी समिति गठन गरेको छ। उक्त समितिको बैठकले हालै मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको थियो।

यता कांग्रेस सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग हालै संवाद गरेका छन्। यसअघि गत पुसमा कांग्रेसले विशेष महाधिवेशन पनि भृकुटीमण्डपमै आयोजना गरेको थियो।