कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म, नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ। नयाँ कार्यतालिकाअनुसार देशभरका गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते सञ्चालन हुनेछन्।
स्थानीय अवस्था र अनुकूलतालाई हेरेर यी दुईमध्ये उपयुक्त दिनमा अधिवेशन सम्पन्न गरिने कांग्रेसले जनाएको छ। वडा अधिवेशनबाट देशभरका ६ हजार ७ सय ४३ वडामा वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधि छनोट हुनेछन्।
त्यसपछि असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन र असोज १० गते प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी छ। जिल्ला र प्रदेश अधिवेशनको मिति भने कांग्रेसले दोस्रो चरणमा सार्वजनिक गर्ने जनाएको छ।
यसअघि पनि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो। तर, भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिपछि प्रभावित जिल्लासहित विभिन्न स्थानबाट प्राप्त सुझावका आधारमा तल्ला तहका अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको हो।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने सम्बन्धित निर्वाचन अधिकृतले स्थानीय पार्टी संरचनासँग समन्वय गरेर अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, विदेशस्थित नेपाली कांग्रेसका जनसम्पर्क समितिअन्तर्गत बाँकी रहेका मुलुकहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाई केन्द्रमा राखेर पहिलो चरणको निर्वाचन क्यालेन्डर सार्वजनिक गरिएको हो। नयाँ कार्यतालिकाले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका निर्वाचन प्रक्रिया निर्धारित समयमै अघि बढाउने कांग्रेसको तयारीलाई स्पष्ट पारेको छ।
१५औँ महाधिवेशनको कार्यतालिका :
३–४ असोज : गाउँ–नगर वडा अधिवेशन
७ असोज : गाउँपालिका/नगरपालिका अधिवेशन
१० असोज : प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन
१६–१९ असोज : नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन
१० असोज भित्र : बाँकी जनसम्पर्क समितिका देशहरूको अधिवेशन सम्पन्न







