नेपालका लागि अमेरिकी दूतावासको कार्यवाहक राजदूतमा मेगन बोल्डिन
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपालस्थित अमेरिकी दूतावासको कार्यवाहक राजदूतका रूपमा मेगन बोल्डिन काठमाडौं आइपुगेकी छन्।
अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत बोल्डिनले आगामी केही महिना नेपालमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको हो। नेपालमा हालै आएको बाढीबाट प्रभावित अमेरिकी नागरिकको सहयोग तथा उद्धार कार्यलाई प्राथमिकतामा राख्दै बोल्डिनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ।
बाढीपछिको प्रतिकार्य र पुनर्लाभका प्रयासमा समेत अमेरिकी दूतावासले सहयोग गर्ने बताइएको छ। बोल्डिन यसअघि बङ्गलादेशको ढाकास्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन्। उनी सन् २०२४ को अगस्टदेखि उक्त जिम्मेवारीमा रहेकी थिइन्।
वरिष्ठ परराष्ट्र सेवाकी करिअर सदस्य बोल्डिनसँग संकट व्यवस्थापन, कूटनीति र नेतृत्व क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ। उनले युक्रेन, इराक, बङ्गलादेश तथा अमेरिकी विदेश मन्त्रालयअन्तर्गत वासिङ्टनस्थित अपरेसन्स सेन्टरमा समेत काम गरिसकेकी छन्।
नेपालमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेसँगै बोल्डिनले नेपाल–अमेरिका सम्बन्धका विभिन्न विषयसँगै विपद्पछिको मानवीय सहयोगमा समेत भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।







