जेन्जी आन्दोलनलाई अपमान नगर्न गृहमन्त्री गुरुङको चेतावनी
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान गर्ने प्रयास नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्।
जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको इतिहासलाई कसैले आफ्नो अनुकूलतामा परिवर्तन गर्न नसक्ने बताएका हुन्। गुरुङले जेन्जी आन्दोलनबारे पुराना दलका केही नेताहरूले विभिन्न ढंगले व्याख्या गरिरहेको भन्दै असन्तुष्टि जनाए। उनले आन्दोलन इतिहासको हिस्सा बनिसकेको भन्दै त्यसलाई बदल्ने प्रयास नगर्न आग्रह गरे।
“त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।” जेन्जी आन्दोलनलाई अपमान गर्नु देशका करोडौँ नागरिकको अपमान हुने उनको दाबी थियो। आन्दोलनको पक्षमा जनताले दिएको समर्थनले यसको ऐतिहासिकता पुष्टि गरिसकेको भन्दै उनले पुरानो राजनीतिक सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने बताए।
गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनका क्रममा सुशासनको माग गर्दै सडकमा उत्रिएका युवामाथि सरकारले गोली चलाएको उल्लेख गर्दै आन्दोलनका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले देशमा सुशासन कायम गर्ने उद्देश्यले आफूहरूलाई अगाडि सारेको दाबीसमेत गरे।
आफ्नो जिम्मेवारीप्रति आफू अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै गुरुङले सरकारमा रहेर कुनै कमजोरी हुन नदिन निरन्तर प्रयास गरिरहेको बताए। आफूलाई काममा सानो कमजोरीसमेत हुन नदिन दबाब महसुस हुने गरेको उनको भनाइ थियो।
“मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मेरोबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा,” उनले भने, “म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु। म मात्र नभएर हाम्रो सरकारका सबै मन्त्रीले काम गरिराख्नुभएको छ।”
गुरुङले जेन्जी आन्दोलनका क्रममा उठेका सुशासन, जवाफदेहिता र सुधारका मुद्दालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।







