यो शुक्रबार ६ फिल्म रिलिज हुँदै, नेपाली र विदेशी फिल्मबीच प्रतिस्पर्धा
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाली चलचित्र बजारमा यो शुक्रबारदेखि एकैपटक तीन नेपाली र तीन विदेशी फिल्म प्रदर्शनमा आउने भएका छन्।
भदौ २६ गतेदेखि नेपाली फिल्मतर्फ ‘पेन्सन पट्टा’, ‘बेहुली’ र ‘अक्षरा’ तथा विदेशी फिल्मतर्फ ‘हनुमान अंश’, ‘फल २: डेडपोइन्ट’ र ‘हैवान’ नेपाली हलमा रिलिज हुँदैछन्।
‘पेन्सन पट्टा’
माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ ड्रामा जनराको फिल्म हो। दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ र विल्सन विक्रम राईलगायत कलाकारको अभिनय रहेको फिल्मले ऋणको बोझ, बाबुको मृत्यु, पेन्सन पट्टा र आमा–छोराबीचको संघर्षलाई कथाको केन्द्रमा राखेको छ।
‘बेहुली’
सशान कँडेल निर्देशित ‘बेहुली’ पारिवारिक तथा भावनात्मक ड्रामा हो। फिल्मले प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’, दिव्या रायमाझी, पदम तामाङ र सुशान्त कार्कीलगायत कलाकारको अभिनय छ।
‘अक्षरा’
विनय राज पौडेलको निर्देशनमा तयार भएको ‘अक्षरा’ सामाजिक–पारिवारिक कथामा आधारित फिल्म हो।
महिलाको पहिचान, सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक चुनौती फिल्मका प्रमुख विषय हुन्। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत र रिस्ता बस्नेतलगायत कलाकार देखिनेछन्।
विदेशी फिल्ममा ‘हनुमान अंश’
विदेशी फिल्मतर्फ हिन्दी भाषाको ‘हनुमान अंश’ पनि शुक्रबारदेखि नेपालमा प्रदर्शन हुँदैछ।
नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित यो फिल्म आध्यात्मिक यात्रामा केन्द्रित बायोपिकका रूपमा प्रस्तुत गरिएको छ। विशाल चतुर्वेदी निर्देशित फिल्ममा शोभिनव सत्या, चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी र विहान शेड्गेलगायत कलाकारको अभिनय छ।
‘फल २: डेडपोइन्ट’मा जीवनको संघर्ष
हलिउडको ‘फल २: डेडपोइन्ट’ पनि शुक्रबारदेखि नेपाली हलमा आउँदैछ। एडभेन्चर–थ्रिलर जनराको फिल्ममा बहिनीको मृत्युबाट शोकमा रहेकी ज्याक्स आफ्नी बहिनीकी साहसी साथी लुससँग थाइल्यान्डको खतरनाक क्वान पर्वत चढ्न पुग्छिन्।
४ हजार फिटको उचाइमा चट्टान खसेपछि साँघुरो काठको फल्याकमा फसेका उनीहरू बाँच्नका लागि आफ्नो डरको सामना गर्न बाध्य हुन्छन्। माइकल स्पिरिग र पिटर स्पिरिग निर्देशित फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ।
‘हैवान’मा अक्षय र सैफ
एक्सन–क्राइम ड्रामा ‘हैवान’ पनि शुक्रबार नै रिलिज हुँदैछ। प्रियदर्शन निर्देशित फिल्मको कथामा दृष्टिविहीन मार्सल आर्ट्स खेलाडीले एक बालिकालाई मनोरोगी हत्याराबाट जोगाउन गर्ने संघर्षलाई प्रस्तुत गरिएको छ। फिल्ममा अक्षय कुमार र सैफ अली खान मुख्य भूमिकामा छन्।







