बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो अत्यावश्यक उपकरण
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाल सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग अत्यावश्यक उपकरण तथा सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा खोज, उद्धार र डीएनए पहिचानमा संलग्न सरकारी निकायसँगको समन्वयमा आवश्यक उपकरण तथा सामग्री पहिचान गरी अन्तर्राष्ट्रिय साझेदारसँग सहयोग मागिएको हो।
मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बाढीपछिको प्रतिकार्यलाई थप प्रभावकारी बनाउन उच्च क्षमताका बेली ब्रिज, महामारी रोकथामका सामग्री, डीएनए परीक्षण किट, पानीमुनि सञ्चालन गर्न सकिने ड्रोन, पोर्टेबल जेनरेटर र उच्च क्षमताका सर्ज पम्प लगायतका सामग्री आवश्यक रहेको पहिचान गरिएको छ।
त्यस्तै, प्रयोगशालाका फ्रिजर तथा हिलो र सुरुङ उद्धारका लागि आवश्यक विशेष पोसाक पनि नेपालले माग गरेको छ। परराष्ट्र मन्त्रालयले यी सामग्री तथा उपकरणका लागि सम्बन्धित अन्तर्राष्ट्रिय साझेदारलाई औपचारिक रूपमा पत्राचार गरिसकेको जनाएको छ। आवश्यक सहयोग छिटो परिचालन गर्न सम्बन्धित निकाय तथा साझेदारसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयको भनाइ छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको खोजी, पहिचान तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन थप प्राविधिक उपकरण र सामग्री आवश्यक देखिएपछि सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल अघि बढाएको हो।







