एमालेद्वारा भदौ २३ र २४ का घटनालाई ‘लोकतन्त्रमाथिको गम्भीर आक्रमण’को संज्ञा

User Image Prime TV News ६ दिन अगाडि
Image of एमालेद्वारा भदौ २३ र २४ का घटनालाई ‘लोकतन्त्रमाथिको गम्भीर आक्रमण’को संज्ञा

काठमाडौ । नेकपा एमालेले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको छ।

घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले भदौ २३ गतेको प्रदर्शनमा ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विध्वंसपछि पुनर्निर्माणमा जुटेकाप्रति पनि शुभेच्छा व्यक्त गरेको छ।

एमालेले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग राख्नु स्वाभाविक भएको जनाएको छ। संविधानले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला र विरोध प्रदर्शनको अधिकार सुनिश्चित गरेको पनि उसले उल्लेख गरेको छ।

तर सामाजिक सञ्जालको निर्वाध सञ्चालन र सुशासनलगायत माग राख्दै भएको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरेर आन्दोलनलाई हिंसात्मक बनाएको एमालेको दाबी छ।

आयोजकले प्रदर्शन स्थगित गर्ने घोषणा गरे पनि घुसपैठकारी समूहले युवालाई मानव ढाल बनाएर संसद् भवनतर्फ आक्रमण गर्न उक्साएको एमालेको आरोप छ।

एमालेले भदौ २३ गतेको घटनामा प्रहरी बल प्रयोगबाट १९ जना युवाको मृत्यु भएको उल्लेख गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ। त्यसपछि सरकारले न्यायिक छानबिन आयोग गठन, सामाजिक सञ्जालमाथिको अस्थायी बन्देज हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको र तत्कालीन गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

एमालेले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, स्मारक तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई योजनाबद्ध आक्रमणका रूपमा व्याख्या गरेको छ।

एमालेका अनुसार उक्त घटना अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेगमा मात्र सीमित नभइ त्यसलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको राजनीतिक प्रक्रियालाई उल्ट्याएर मुलुकलाई अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको परिणाम भएको दाबी गरेको छ।

शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थिए भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने एमालेको माग छ।

साथै, भदौ २४ गते राज्यका प्रमुख संरचना र सार्वजनिक सम्पत्तिमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उसले जनाएको छ। सुरक्षा निकायको व्यावसायिक क्षमता र निष्ठासम्बन्धी उठेका प्रश्नको समेत उचित छानबिन आवश्यक रहेको एमालेको भनाइ छ ।