पूर्वराष्ट्रपति भण्डारीद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न आग्रह

User Image Prime TV News ६ दिन अगाडि
Image of पूर्वराष्ट्रपति भण्डारीद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न आग्रह

काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा स्थापित गर्न आग्रह गरेकी छन्।

बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसको भोलिपल्ट देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन्।

उनले जेनजी आन्दोलनमा उठाइएका जायज माग र त्यसको मूल भावनाभन्दा फरक गतिविधि देखिएको उल्लेख गर्दै बाह्य घुसपैठ वा अवाञ्छित तत्वको संलग्नताको प्रश्नसमेत गम्भीर रूपमा उठेको बताएकी छन्।

भण्डारीले दुवै दिनका घटनामा कुनै राजनीतिक पूर्वाग्रह नराखी सत्य, तथ्य र जिम्मेवारी निष्पक्ष रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको भए पनि सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको उनको भनाइ छ।

सञ्चारमाध्यममार्फत प्रतिवेदनका केही विवरण सार्वजनिक भए पनि घटनाको समग्र प्रकृति र त्यसमा संलग्न पक्षहरूको भूमिकाबारे अझै प्रश्न बाँकी रहेको उनले उल्लेख गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले न्यायलाई राजनीतिक प्रतिशोधको आधार बनाउन नहुने बताउँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउन तथा निर्दोषमाथि अन्याय हुन नदिन आग्रह गरेकी छन्। ‘राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्छ,’ उनले भनेकी छन्।

नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै भण्डारीले नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्ने बताएकी छन्।

उनले लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने बताएकी छन्।