इन्टर मिलानलाई हराउँदै रियल मड्रिडको च्याम्पियन्स लिगमा विजयी सुरुवात
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । रियल मड्रिडले इन्टर मिलानलाई पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
गएराति भएको खेलमा रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोलले पराजित गरेको हो। रियलको जितमा केलियन एमबाप्पे र फेडेरिको भाल्भर्डेले एक–एक गोल गरे। इन्टरका लागि कार्लोस अगस्टोले एक गोल फर्काए।
खेलको १४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। यो च्याम्पियन्स लिगमा उनको ९९औँ खेलमा ७१औँ गोल हो।
७१ गोलसँगै एमबाप्पे च्याम्पियन्स लिग तथा युरोपियन कपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा पाँचौँ स्थानमा पुगेका छन्। उनीसँगै राउलको पनि ७१ गोल छ।
यस सूचीमा क्रिस्टियानो रोनाल्डो १४० गोलसहित पहिलो स्थानमा छन्। त्यसपछि लियोनेल मेसी १२९, रोबर्ट लेवान्डोस्की १०९ र करिम बेन्जेमा ९० गोलसहित रहेका छन्।
खेलको २३औँ मिनेटमा कप्तान भाल्भर्डेले गोल गर्दै रियलको अग्रता २–० बनाए। ७७औँ मिनेटमा कार्लोस अगस्टोले इन्टरका लागि गोल गरे पनि त्यसपछि थप गोल हुन नसक्दा रियल २–१ ले विजयी भयो।
यस्तै, गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले पोर्टोलाई २–० ले पराजित गरेको छ। रियल बेटिसले लिल, एस्टन भिल्लाले क्लब ब्रुग र बोरुसिया डर्टमुन्डले भिल्लारियललाई समान ३–२ गोलले पराजित गरेका छन्।







