भोटेकोशी बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको भौतिक क्षति र पुनर्निर्माणका लागि आवश्यकताको मूल्याङ्कन यथार्थपरक बनाउन निर्देशन दिएका छन्।
मङ्गलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैङ्कले तयार गरिरहेका प्रारम्भिक क्षति मूल्याङ्कनबारे छलफल गर्दै मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन्।
उनले बाढीबाट भएको क्षतिको वास्तविक अवस्था समेटिएको साझा राष्ट्रिय प्रतिवेदन आवश्यक रहेको बताए। यथार्थपरक तथ्याङ्कका आधारमा मात्रै सरकारले उचित निर्णय लिन र पुनर्निर्माणका लागि आवश्यक लगानी जुटाउन सक्ने उनको भनाइ थियो।
राष्ट्रिय योजना आयोगले बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको द्रुत प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन तयार गरिरहेको छ। विश्व बैङ्कले पनि विपद्पछिको प्रारम्भिक क्षति अनुमान तयार पारेको छ।
छलफलमा दुवै मूल्याङ्कनलाई समेटेर साझा प्रारम्भिक प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको थियो। आयोगका अनुसार भौतिक क्षतिको मूल्याङ्कनलाई मुख्यतः सामाजिक, उत्पादनमूलक, पूर्वाधार र अन्तरक्षेत्रीय गरी चार क्षेत्रमा विभाजन गरिएको छ।
सामाजिक क्षेत्रअन्तर्गत निजी तथा सार्वजनिक भवन, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदामा भएको क्षतिको अध्ययन गरिएको छ। उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि, मत्स्य, पशुपन्छी, वित्तीय तथा आर्थिक गतिविधिमा भएको क्षतिको मूल्याङ्कन भइरहेको छ।
पूर्वाधारतर्फ जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक, पुल, दूरसञ्चार, सिँचाइ तथा नदी व्यवस्थापनलगायत क्षेत्रमा भएको क्षति समेटिएको छ। बाढीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष तथा जोखिमयुक्त फोहोरलाई पनि अन्तरक्षेत्रीय विषयका रूपमा मूल्याङ्कन गरिएको छ।
राष्ट्रिय योजना आयोगले सहसचिव अर्जुन भण्डारीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि सहभागी गराएर आरडिएनए प्रतिवेदन तयार गरिरहेको छ। सरकारले तयार हुने साझा प्रतिवेदनका आधारमा तत्कालीन राहत, लगानीको स्रोत व्यवस्थापन तथा पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रम अघि बढाउने तयारी गरेको छ।






