भदौ २४ को विध्वंसबारे गहिरो अनुसन्धान आवश्यक छ : दाहाल

User Image Prime TV News ६ दिन अगाडि
Image of भदौ २४ को विध्वंसबारे गहिरो अनुसन्धान आवश्यक छ : दाहाल

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन गम्भीर र बहुआयामिक अनुसन्धान आवश्यक रहेको बताएका छन्।

भदौ २४ गतेको घटनालाई नेपालको इतिहासकै रहस्यमय तथा भयावह विध्वंसका रूपमा व्याख्या गर्दै प्रचण्डले घटनामा संलग्न वास्तविक दोषीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

भिडियो सन्देश जारी गर्दै उनले केही घण्टामै भएको ठूलो विध्वंसले घटना सामान्य नभएको संकेत गरेको दाबी गरे। राष्ट्रिय स्वाधीनता, जनताको लोकतान्त्रिक आकांक्षा र आन्दोलनमाथि भएको प्रहारको गहिरो अध्ययन आवश्यक रहेको उनको भनाइ छ।

प्रचण्डले घटनाको एक वर्ष बितिसक्दा पनि अपेक्षित रूपमा सत्यतथ्य बाहिर आउन नसकेको आरोप लगाए। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनमा अघि नबढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

उनका अनुसार भदौ २३ गते युवाहरूले उठाएको सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई भोलिपल्ट भएको घटनाले सम्बोधन गर्नुको सट्टा त्यसै आन्दोलनको भावना र उद्देश्यलाई कमजोर बनाउने काम गरेको छ।

भदौ २४ को घटनाले ‘जेनजी’ युवाहरूको आकांक्षामाथि प्रहार गर्दै उनीहरूको आन्दोलनलाई अन्य शक्तिले आफ्नो नियन्त्रणमा लिएको प्रचण्डको दाबी छ। उनले घटनाको राष्ट्रिय पक्षसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको जिकिर गरेका छन्। पछिल्लो भूराजनीतिक अवस्थालाई समेत ध्यानमा राख्दै घटनाको अन्तर्राष्ट्रिय कोणबाट समेत अध्ययन–अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

प्रचण्डले वास्तविक घटनाक्रम, त्यसका योजनाकार तथा जिम्मेवार पक्ष पहिचान गरी निष्पक्ष अनुसन्धानमार्फत सत्य सार्वजनिक गर्नुपर्ने बताएका छन्।