मेलम्ची नदीको खानेपानी फेरि काठमाडौंमा

User Image Prime TV News एक महिना अगाडि
Image of मेलम्ची नदीको खानेपानी फेरि काठमाडौंमा

काठमाडौ । मेलम्ची नदीको खानेपानी फेरि काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्चीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गएको असार १० गते आपूर्ति रोकिएको थियो ।

वर्षायाममा क्षति पुगेका केही ठाउँमा मर्मतपश्चात् हाल पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेकोे मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।

उनले भने, “बर्सातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौं ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।”

काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्ची खानेपानी बन्द गरिएका बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्र उपत्यकामा आपूर्ति हुने गरेको थियो ।

दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा आइपुगेसँगै उपत्यकामा वितरण सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए ।

उनले भने, “मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन/तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।”

०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनाको हेडवर्क्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण गरिँदै आएको छ । 

बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रूपमा ६ देखि सात करोड लिटर पानी स्थान्तरण गरेर काठमाडौंमा वितरण गरिएको थियो ।

कार्यकारी निर्देशक दासका अनुसार, ०७८ चैत १५ गतेदेखि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावती नदीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौंमा हालसम्म बाह्रै महिना पानी ल्याउन सकिएको छैन । रासस