अमेरिकाद्वारा पाँच इरानी तेल ट्यांकर ध्वस्त, जवाफमा इरानको जोर्डनस्थित अमेरिकी आधारमा क्षेप्यास्त्र प्रहार
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । अमेरिका र इरानबीच पछिल्ला दिनमा सैन्य तनाव थप चर्किएको छ।
अमेरिकी सेनाले इरानबाट आफ्ना नौसैनिक पानीजहाजलाई निशाना बनाउने प्रयास भएको भन्दै जवाफी कारबाहीस्वरूप पाँचवटा इरानी तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग सम्बन्धित तेल ट्यांकरलाई कारबाही गरिएको हो।
केही जहाज ओमानको खाडीमा र अर्को इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप आसपासमा लक्षित गरिएको जनाइएको छ। अमेरिकी सेनाले कारबाहीअघि सम्बन्धित जहाजका चालक दललाई जहाज खाली गर्न निर्देशन दिएको जनाएको छ। पछिल्ला दुई दिनमा इरानी पक्षबाट अमेरिकी नौसैनिक जहाजमाथि क्षेप्यास्त्र प्रहारको प्रयास भएपछि आफूहरूले प्रतिकार गरेको सेन्टकमको दाबी छ।
अमेरिकी आक्रमणपछि इरानले पनि जवाफी कारबाही तीव्र बनाएको छ। इरानले जोर्डनस्थित अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनका अधिकारीहरूका अनुसार प्रहार गरिएका २० क्षेप्यास्त्रमध्ये १८ वटा वायु प्रतिरक्षा प्रणालीमार्फत खसालिएको र बाँकी दुई मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए।
पछिल्लो घटनाक्रमले अमेरिका–इरानबीचको सैन्य टकरावलाई थप गम्भीर बनाएको छ। होर्मुज जलडमरूमध्य र आसपासका समुद्री मार्गमा समेत तनाव बढेकाले विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ। पछिल्लो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत १०० डलर प्रतिब्यारेलको नजिक पुगेको रिपोर्टहरूमा उल्लेख छ।
अमेरिका र इरानबीच जारी द्वन्द्व छ महिनाभन्दा लामो समयदेखि चलिरहेको अवस्थामा पछिल्ला केही दिनका प्रत्यक्ष सैन्य कारबाहीले क्षेत्रीय युद्ध थप फैलिन सक्ने जोखिम बढाएको छ।







