सहिदको अनुहार नमिलेपछि जेनजी शालिक अनावरण कार्यक्रम स्थगित
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स परिसरमा निर्माण गरिएका जेनजी आन्दोलनका सहिदहरूको शालिक अनावरण कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा निर्माण गरिएका शालिकको अनुहार सम्बन्धित व्यक्तिसँग नमिलेको भन्दै सहिद परिवारहरूले असन्तुष्टि जनाएपछि अनावरण रोकिएको हो।
अनावरणका लागि सहिद परिवारका सदस्यसहित सरकारका मन्त्री तथा विभिन्न राजनीतिक व्यक्तिहरू शालिकस्थल पुगेका थिए। औपचारिक कार्यक्रम सुरु हुनुअघि परिवारका सदस्यहरूलाई सम्बन्धित सहिदको शालिक देखाइएको थियो। तर अधिकांश शालिक आफूहरूले उपलब्ध गराएको तस्वीरसँग मेल नखाएको भन्दै परिवारहरूले आपत्ति जनाए।
परिवारका सदस्यहरूले शालिक निर्माणमा लापरबाही भएको भन्दै मन्त्रीहरूसमक्ष गुनासो राखेपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। सरकारले अब शालिकहरूमा आवश्यक सुधार गरी एक महिनाभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। त्यसपछि मात्रै औपचारिक रूपमा अनावरण गर्ने तयारी गरिएको छ।
एक सहिद परिवारका सदस्यले निर्माण गरिएको शालिकले सम्बन्धित व्यक्तिको उमेर र अनुहारसमेत प्रतिनिधित्व गर्न नसकेको गुनासो गरे। उनका अनुसार २४–२५ वर्षको युवालाई ४०–४५ वर्षको व्यक्तिजस्तो देखिने गरी शालिक बनाइएको छ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा शालिक निर्माण गर्ने निर्णय तत्कालीन सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले गरेको थियो। सोही सरकारको कार्यकालमा निर्माण सुरु गरिएको शालिक अहिले सम्पन्न भएको थियो।
भदौ २३ गते आन्दोलनको एक वर्ष पूरा भएको अवसर पारेर शालिक अनावरण गर्ने तयारी गरिएको भए पनि परिवारको असन्तुष्टिका कारण कार्यक्रम रोकिएको हो।







