कृष्णभीरमा अवरुद्ध सडक खुलाउन युद्धस्तरमा काम
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । रसुवामा आएको बाढीका कारण नागढुंगा–मुग्लिङ सडकखण्ड अन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम भइरहेको छ।
सडक डिभिजनअन्तर्गत नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का प्रमुख तथा इन्जिनियर धिरज ढकालका अनुसार सडक सञ्चालनमा ल्याउन भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा नयाँ ट्र्याक खोल्ने कामलाई तीव्रता दिइएको छ।
अवरुद्ध सडक खुलाउन १० भन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको छ। प्राविधिक र मजदुरहरूको टोलीले दैनिक १२ घण्टाभन्दा बढी समय काम गरिरहेको आयोजनाले जनाएको छ। बाढीका कारण सडक अवरुद्ध भएपछि यस मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म यात्रुहरूलाई संयमित हुन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ। सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति, उपकरण र प्राविधिक टोली परिचालन गरी काम भइरहेको आयोजनाले जनाएको छ।







