प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै

User Image Prime TV News ६ दिन अगाडि
Image of प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै

काठमाडौ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिबारे विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग छलफल थालेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, उपचार तथा समग्र सुरक्षा अवस्थाबारे ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने विषय प्राथमिकतामा रहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग प्रधानमन्त्री शाहको छलफल भइरहेको छ। प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षा निकायले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियान, राहत व्यवस्थापन र उद्धारका क्रममा देखिएका चुनौतीबारे प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूबाट प्रत्यक्ष जानकारी लिने बताइएको छ।