विपद् प्राधिकरणलाई अधिकार र बजेटविहीन बनाएर प्रभावकारी काम गर्न कठिन : धर्मराज उप्रेती
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपछिको उद्धार, राहत तथा पुनर्निर्माणका काममा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढिरहेको बताएका छन्।
सङ्घीय संसद्को अर्थ समितिको बुधबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उप्रेतीले विपद् व्यवस्थापनमा प्राधिकरणले आफ्नो सीमित स्रोतसाधनका बीच काम गरिरहेको बताए। उनले प्राधिकरणसँग पर्याप्त बजेट, अधिकार र साधनस्रोत नहुँदा अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न कठिन भइरहेको गुनासो गरे।
विपद् ऐन, २०७४ जारी भएपछि प्राधिकरण गठन भए पनि यसलाई पूर्ण रूपमा सक्षम र स्रोतसम्पन्न निकायका रूपमा विकास गर्न नसकिएको उनको भनाइ थियो। ‘प्राधिकरणलाई बजेट र अधिकार छैन, यस्तै रहे काम गर्न गाह्रो छ,’ उनले भने।
विपद् कोषमा रकम रहे पनि आवश्यक पर्दा त्यसलाई खर्च गर्नसमेत सहज नभएको उप्रेतीले बताए। उनका अनुसार प्राधिकरणलाई अधिकारसम्पन्न, पर्याप्त बजेट र आधुनिक साधनस्रोतसहितको शक्तिशाली निकाय बनाउन कानुनी सुधार आवश्यक रहेको बताए ।
बाढी प्रभावित जलविद्युत आयोजनाका सुरुङमा मजदुरहरू फसेको घटनाबारे सांसदहरूले राखेको जिज्ञासामा उप्रेतीले कुनै पनि सुरुङमा उद्धार कार्य नरोकिएको स्पष्ट पारे। उनका अनुसार नेपाली सेनासँग समेत नियमित ब्रिफिङ भइरहेको छ। सुरुङमा १२१ जना फसेको आशङ्का गरिए पनि अधिकांशलाई बाहिर निकालिएको र केहीको अझै खोजी भइरहेको उनले जानकारी दिए ।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन प्रमाणसहितको प्रतिवेदन तयार भइरहेको पनि उप्रेतीले बताए। संयुक्त राष्ट्रसङ्घको महासभामा भएको घोषणालाई आधार बनाएर प्रतिवेदन तयार पारिने र जलवायु न्यायको दाबीका लागि त्यसले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
उप्रेतीले आगामी हिउँदमा सुक्खाको अवस्था देखिन सक्ने तथा सन् २०२७ मा ठूलो तातो लहर (हिट वेभ) र अन्य विपद्को जोखिम बढ्न सक्ने चेतावनीसमेत दिए। त्यसका लागि राष्ट्रिय अनुकूलन योजनालाई स्थानीय र प्रदेश तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताए।







