बाढीपहिरोको संकटप्रति सरकारको गम्भीर भएन : वासना थापा

User Image Prime TV News ६ दिन अगाडि
Image of बाढीपहिरोको संकटप्रति सरकारको गम्भीर भएन  : वासना थापा

काठमाडौ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढीपहिरोका कारण देशभर सिर्जिएको संकटप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै थापाले रसुवालगायतका जिल्लामा बाढी तथा पहिरोबाट भएको क्षति र प्रभावित नागरिकले भोगिरहेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्। रसुवामा बाढी आएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोज तथा उद्धार कार्य अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उनले बताइन्।

पीडित परिवारबाट निरन्तर गुनासो आइरहेको भन्दै उनले उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरिन्। थापाले बाढीपहिरोको घटना प्राकृतिक विपत्तिमा मात्रै सीमित नभई सयौँ परिवारको जीवनसँग जोडिएको राष्ट्रिय संकट भएको बताइन्। उनका अनुसार रसुवा, दैलेख तथा कर्णालीका विभिन्न क्षेत्रमा अझै नागरिक सम्पर्कविहीन छन् भने कतिपय परिवार घरबारविहीन भएर कठिन अवस्थामा बस्न बाध्य छन्।

उनले प्रभावित नागरिकका लागि तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिन्। ‘सरकारको पहिलो दायित्व सत्ता टिकाउने होइन, नागरिक बचाउने हो,’ थापाले भनिन्, ‘संकटमा परेका नागरिकले राज्य आफ्नो साथमा रहेको अनुभूति गर्न पाउनुपर्छ।’

प्रमुख सचेतक थापाले सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी परिवारलाई यथार्थ सूचना उपलब्ध गराउनसमेत सरकारलाई आग्रह गरिन्। उनले प्रभावित क्षेत्रमा थप जनशक्ति, उद्धार सामग्री तथा आवश्यक स्रोतसाधन परिचालन गरी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।