भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन होस् : गगन थापा

User Image Prime TV News ५ दिन अगाडि
Image of भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन होस् : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बीपी स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २४ गते आफ्नो घरसमेत जलेको स्मरण गरे। तर आफ्नो व्यक्तिगत क्षतिभन्दा आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका युवाहरूको पीडा निकै ठूलो रहेको उनले बताए।

थापाले भदौ २३ गते भएको शान्तिपूर्ण आन्दोलनमाथिको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउने दुवै पक्षको निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनका अनुसार भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको तोडफोड तथा आगजनीका घटनाको समेत अनुसन्धान हुनुपर्छ।

त्यस दिन भएको ध्वंसका पछाडि को–को संलग्न थिए, कसले योजना बनायो र कसरी यति ठूलो राज्य संयन्त्र निष्क्रिय भयो भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनले बताए। ‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ थापाले भने।

सरकारले भदौ २४ गतेको घटनाबारे निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धान कहाँ पुगेको हो भन्ने प्रश्न गरेका छन्। उनले भदौ २३ गतेको घटनाबारे गरिएको अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्नसमेत सरकारसँग माग गरे।

थापाले भदौ २३ गते आन्दोलनमाथि दमन गर्ने, आन्दोलनमा हिंसा भड्काउने र भदौ २४ गते आपराधिक गतिविधिमा संलग्न हुने सबैको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताए। उनले दोषीलाई कारबाही नगर्दा समाजमा दण्डहीनता बढ्ने र भविष्यमा यस्ता घटना दोहोरिन सक्ने चेतावनीसमेत दिए।

‘हामी हाम्रो ठाउँबाट प्रस्ट छौँ। भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ, २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ थापाले भने। बीपी स्मृति दिवसको सन्दर्भमा थापाले भदौ २४ गते आफ्नो घर जलेको घटनालाई व्यक्तिगत पीडाका रूपमा मात्रै नहेर्न आग्रह गरे।

उनले आफ्नो परिवारमाथि समेत जोखिम उत्पन्न भएको भए पनि आन्दोलनमा ज्यान गुमाएका परिवार र घटनामा घाइते भएका युवाको पीडासामु आफ्नो क्षति गौण रहेको बताए। थापाले भदौ २३ र २४ का घटनाका अनुत्तरित प्रश्नको जवाफ खोज्न नसके त्यसको मूल्य सिंगो समाजले चुकाउनुपर्ने बताए।