साइबर बुलिङ गर्ने सदस्यलाई रास्वपाबाट तत्काल निष्कासन गर्छौं : रवि लामिछाने

User Image Prime TV News ५ दिन अगाडि
Image of साइबर बुलिङ गर्ने सदस्यलाई रास्वपाबाट तत्काल निष्कासन गर्छौं : रवि लामिछाने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदमा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टी सदस्यलाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपद्का बेला पीडित नागरिकको पीडामाथि कटाक्ष गर्ने अन्धसमर्थक पार्टीलाई आवश्यक नरहेको बताए। नागरिकको दुःख र पीडामा साथ दिने सदस्य पार्टीलाई चाहिएको उनको भनाइ थियो।

‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक चाहिएको छैन। हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ,’ लामिछानेले भने।

उनले नागरिकको आक्रोश र पीडालाई गलत ढंगले व्याख्या गर्ने, सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने अधिकार रास्वपाका कुनै पनि नेता–कार्यकर्तालाई नरहेको स्पष्ट पारे। लामिछानेले रास्वपाको जुनसुकै तहको सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी वा साइबर बुलिङमा संलग्न भएको प्रमाणित भए तत्काल पार्टीबाट निष्कासन गर्ने बताए।

‘यदि रास्वपाको कुनै पनि तहको सदस्य, पदाधिकारी विपद्मा परेका नागरिकमाथि तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने काममा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्य नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,’ उनले भने। विपद्का कारण पीडामा रहेका नागरिकलाई थप पीडा दिने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको उनले बताए।

लामिछानेले सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा पीडित नागरिकमाथि तुच्छ टिप्पणी र कटाक्ष गर्ने गतिविधि तत्काल रोक्न सरकारसँग आग्रह गरे। उनले त्यस्ता गतिविधिविरुद्ध केवल विज्ञप्ति जारी गरेर मात्र नपुग्ने भन्दै नागरिकले अनुभूति गर्ने गरी प्रभावकारी कारबाही गर्न सरकारलाई आग्रह गरे।

‘सामाजिक सञ्जाल र चोक–चौतारोमा तुच्छ टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिले बन्द गरौँ,’ लामिछानेले भने, ‘त्यसमा निर्मम विज्ञप्ति मात्रै निकाल्ने होइन, नागरिकले महसुस गर्ने गरी देखाउने हो।’ विपद्को समयमा राजनीतिक विचार वा समर्थनभन्दा माथि उठेर पीडित नागरिकको पक्षमा उभिनुपर्नेमा उनले जोड दिए।