लगातार चार दिनको वृद्धिपछि नेप्से दोहोरो अंकले घट्यो
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । लगातार चार कारोबार दिन बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ।
यस दिन नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५४५.४० बिन्दुमा झरेको छ। नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन सोमबार ३५२ कम्पनीका ९० लाख ८५ हजार ६३१ कित्ता सेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबार कारोबारमा आएका सबै १३ वटै उपसूचक घटेका छन्। विकास बैंक समूहको उपसूचक सर्वाधिक २.३७ प्रतिशतले घटेको छ।
यस्तै निर्जीवन बीमा र व्यापार समूह १.५७ प्रतिशत, होटल तथा पर्यटन १.३८ प्रतिशत र फाइनान्स समूह १.०८ प्रतिशतले घटेका छन्। आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
कारोबारका क्रममा अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। चार दिनको निरन्तर वृद्धिपछि बजारमा आएको गिरावटसँगै लगानीकर्ताको कारोबार गतिविधि भने बढेको देखिएको छ।







