ह्वीप उल्लंघन गरेको भन्दै भुवन पाठक सहित ५ सांसदलाई पदमुक्त गर्न राप्रपाको सिफारिस
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलले पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा पूर्वसभामुख भुवनकुमार पाठकसहित पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न सिफारिस गरेको छ।
राप्रपा संसदीय दलका मुख्य सचेतक डम्बर तामाङले बागमती प्रदेशसभाका सभामुखलाई पत्र पठाउँदै पार्टी विधान तथा संसदीय दलको विधानअनुसार पाँचै जना सांसदलाई प्रदेशसभा सदस्यबाट निष्कासन गरी आवश्यक कारबाही अघि बढाउन माग गरेका हुन्।
प्रदेशसभा सचिवालयमा उक्त पत्र भदौ २४ गते दर्ता भएको जनाइएको छ। पदमुक्त गर्न सिफारिस गरिएका सांसदहरूमा भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्।
राप्रपा बागमती प्रदेश संसदीय दलको २०८१ भदौ २ गते बसेको बैठकले प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुख्यमन्त्री किरण थापामगर नेतृत्वको सरकारमा राप्रपाका तर्फबाट गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति र राजु विष्ट मन्त्री बनेका थिए।
मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएपछि भदौ ७ गते संसदीय दलको बैठक बसेर सरकारको पक्षमा अनिवार्य मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरिएको थियो।तर भदौ ९ गते बसेको प्रदेशसभा बैठकमा पाठकसहित पाँच सांसद अनुपस्थित भएको र यसलाई संसदीय दलले ह्वीप उल्लंघनका रूपमा लिएको पत्रमा उल्लेख छ।
ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलले भदौ १७ गते पाँचै जना सांसदसँग ७२ घण्टाभित्र स्पष्टीकरण मागेको थियो। तर तोकिएको समयभित्र कुनै पनि सांसदले स्पष्टीकरण नदिएको राप्रपा संसदीय दलका मुख्य सचेतक तामाङले सभामुखलाई पठाएको पत्रमा उल्लेख गरेका छन्।
स्पष्टीकरण नदिएपछि राप्रपा संसदीय दलको विधान, २०७९ बमोजिम उनीहरूलाई प्रदेशसभा सदस्यबाटै हटाउने निर्णय गरिएको जनाइएको छ। सोही निर्णयअनुसार आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन सभामुखलाई जानकारी गराइएको मुख्य सचेतक तामाङले बताएका छन्।







