चोलेन्द्रशमशेर जबराविरुद्धको रिट खारेज, पेन्सन सुविधा पाउने बाटो खुल्यो
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दायर रिट निवेदन खारेज गरेको छ।
संवैधानिक इजलासको यो निर्णयसँगै जबराले पेन्सनपट्टालगायतका सेवा–सुविधा पाउने बाटो खुलेको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको संवैधानिक इजलासले जबराविरुद्ध परेको रिट खारेज गर्ने निर्णय गरेको हो।
महाभियोगका कारण निलम्बित अवस्थामै प्रधानन्यायाधीश पदबाट अवकाश पाएका जबराले हालसम्म पेन्सनपट्टा लगायतका सुविधा पाएका थिएनन्। जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। तर उक्त प्रस्ताव टुंगोमा पुग्नुअघि नै प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि महाभियोग प्रक्रियामै अन्योल उत्पन्न भएको थियो।
त्यसपछि संघीय संसद्का महासचिव भरतराज गौतमले जबराविरुद्धको निलम्बन फुकुवा हुने व्यहोराको पत्र सर्वोच्च अदालतमा पठाएका थिए। उक्त पत्रविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले संघीय संसद् सचिवालयबाट पठाइएको पत्र कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेशका कारण जबरा निलम्बित अवस्थामै रहेका थिए।
अहिले संवैधानिक इजलासले रिट नै खारेज गरेपछि उनको निलम्बनसम्बन्धी विवादको कानुनी अवस्था बदलिएको छ र पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने सेवा–सुविधा प्राप्त गर्ने बाटो खुलेको हो।







