जेलेन्स्की सवार विमान ड्रोन आक्रमणको जोखिमबाट जोगियो
Prime TV News ५ दिन अगाडि 
काठमाडौ ।नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान ड्रोन आक्रमणको जोखिमबाट थोरैले मात्र जोगिएको दाबी गरेका छन्।
नर्वेजियन सार्वजनिक प्रसारक एनआरकेसँग कुरा गर्दै स्टोरले मोल्डोभाबाट नर्वेको राजधानी ओस्लोका लागि उडान भर्ने क्रममा जेलेन्स्की सवार विमान ड्रोनको सम्भावित निशानामा पर्न लागेको बताएका हुन्।
जेलेन्स्की नर्वेका दिवंगत राजा ह्याराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन मोल्डोभा हुँदै ओस्लो जाने क्रममा थिए। स्टोरले जेलेन्स्कीले काम गरिरहेको अवस्थामा सामना गर्नुपरेको सुरक्षा जोखिमको उदाहरणका रूपमा उक्त घटनालाई उल्लेख गरेका छन्।
ड्रोनको जोखिम देखिएपछि मोल्डोभाले केही समयका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको बताइएको छ। त्यसका कारण जेलेन्स्की सवार विमानको उडानसमेत ढिलाइ भएको थियो। मोल्डोभाको भूभागमा रुसी ड्रोन खसेपछि मात्रै विमानलाई उडानको अनुमति दिइएको बताइएको छ।
अमेरिकी थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार मंगलबार एउटा रुसी ‘साहेद’ ड्रोन युक्रेनबाट मोल्डोभा हुँदै रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो। उक्त ड्रोन करिब एक घण्टासम्म सो क्षेत्रमा उडेपछि मोल्डोभामा खसेको बताइएको छ।
तर, जेलेन्स्की सवार विमानलाई जोखिममा पार्ने घटना यही ड्रोनका कारण भएको हो वा अर्को ड्रोनबाट खतरा उत्पन्न भएको हो भन्ने स्पष्ट भइसकेको छैन।
युक्रेनी अधिकारी वा राष्ट्रपति जेलेन्स्कीले घटनाबारे अहिलेसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन्। त्यसैले विमानमाथि प्रत्यक्ष ड्रोन आक्रमणको प्रयास भएको भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।







