प्रचण्डको निर्देशन : आत्मसमिक्षा गर्दै संगठन विस्तारमा जुट्न नेता कार्यकर्तालाई आह्वान

User Image Prime TV News एक महिना अगाडि
Image of प्रचण्डको निर्देशन : आत्मसमिक्षा गर्दै संगठन विस्तारमा जुट्न नेता कार्यकर्तालाई आह्वान

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र आत्मसमिक्षा र जनसम्पर्क विस्तारलाई प्राथमिकता दिँदै संगठन सुदृढीकरणमा जुट्न नेताहरूलाई निर्देशन दिएका छन्।

सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको संगठनात्मक अवस्था, आन्तरिक बहस र आगामी रणनीतिबारे विस्तृत धारणा राखेका थिए। उनले पछिल्लो समय जनतामाझ माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको उल्लेख गर्दै, “जनविश्वासलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव हुँदैन,” भन्ने धारणा व्यक्त गरे।

उनले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए। साथै, अब सबै नेता–कार्यकर्ताहरू गाउँ–बस्ती पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा सक्रिय हुनुपर्छ, भन्दै कार्यकर्तालाई जनतासँग जोडिन निर्देशन दिए।

प्रचण्डले पार्टीभित्र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै विगतका कमजोरीहरूको गम्भीर समीक्षा आवश्यक रहेको बताए। सरकारमा हुँदा माओवादी केन्द्रले गरेका काम, पछिल्लो सडक आन्दोलन तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण जनभावना सकारात्मक बनेको उल्लेख गर्दै उनले अब यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्न जरुरी छ।

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे जिज्ञासा राखेपछि अध्यक्ष प्रचण्डले स्पष्ट भने, “हाम्रो पार्टीमा कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने संस्कार माओवादी केन्द्रमा मात्रै छ।”

प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई माओवादी आन्दोलनका दृष्टिकोणले सम्भावनायुक्त क्षेत्रको रूपमा मूल्याङ्कन गर्दै त्यहाँका नेता तथा कार्यकर्तालाई योजनाबद्ध र केन्द्रित रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए। उनले भने, “क्रान्तिको समयमा पनि र अहिलेको शान्ति प्रक्रियामा पनि सुदूरपश्चिम हाम्रो लागि विशेष महत्त्वको छ। त्यहाँको कार्यशक्तिलाई व्यवस्थित गर्न सक्नु हाम्रो चुनौती हो।”

बैठकमा पार्टी उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार पार्टीको सांगठनिक विस्तार र जनसम्पर्क अभियानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेका थिए। उनले स्थानीय तहसम्म संगठन विस्तारमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाए।