आज केही स्थानमा भारी वर्षाको सम्भावना
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेससहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मधेस प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात, पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको विभागले जानकारी दिएको छ।







