यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

User Image Prime TV News ५ दिन अगाडि
Image of यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख रुपैयाँ सहयोग

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यशोदा ग्रुप अन्तर्गतका यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि.ले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

उक्त सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

यसैगरी, बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा कम्पनीले थप ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहत सामग्रीका रूपमा उपलब्ध गराएको जनाएको छ। अति प्रभावित क्षेत्र तथा पीडितहरूका लागि सञ्चालन गरिएका आश्रयस्थलमा सम्बन्धित निकायमार्फत चाउचाउ पुर्‍याउनुका साथै प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा समेत वितरण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आवश्यकता अनुसार थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन पनि आफू तयार रहेको छ। विपद्को यस घडीमा प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य जुनसुकै प्रकारको सहयोग गर्न यशोदा ग्रुप इन्डस्ट्रिज प्रा.लि. पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि विभिन्न सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको छ।