ग्यास नपाएको विरोधमा सडकमा खाना पकाउँदै अनेरास्ववियु क्रान्तिकारी
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ।
ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको भन्दै विद्यार्थीहरूले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडिको सडकमा खाना पकाएर सरकारको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले सडकमै इँटा राखेर अस्थायी चुलो बनाएका थिए।
त्यसपछि दाउरा बालेर खाना पकाउनुका साथै सडकमा बसेर खाना खाएका थिए। ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सडकमा खाना पकाएर सांकेतिक विरोध गरिएको अनेरास्ववियु क्रान्तिकारीले जनाएको छ।
प्रदर्शनकारीहरूले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा जनताले भोगिरहेको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने मागसमेत गरेका छन्।







