कांग्रेसले बोलायो विपक्षी दलहरूको संयुक्त बैठक

User Image Prime TV News ५ दिन अगाडि
Image of कांग्रेसले बोलायो विपक्षी दलहरूको संयुक्त बैठक

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

समसामयिक राजनीतिक परिस्थिति तथा रसुवामा गएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न कांग्रेसले विपक्षी दलहरूलाई बैठकमा बोलाएको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

थापाका अनुसार रसुवामा बाढीबाट भएको क्षति तथा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो। बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिलाई बोलाइएको उनले जानकारी दिइन्।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनका विषयमा विपक्षी दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाइएको कांग्रेसको भनाइ छ। बैठकमा सरकारका पछिल्ला कामकारबाही, विपद् व्यवस्थापनमा सरकारको भूमिका तथा संसद्मा विपक्षी दलहरूले आगामी दिनमा अपनाउने रणनीतिबारे समेत छलफल हुने बताइएको छ।