भोटेकोशी बाढीमा उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकारले ढिलाइ गर्यो : प्रचण्ड
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भोटेकोशी नदीमा बाढी आएका बेला सरकारले अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग लिन ढिलाइ गरेको आरोप लगाएका छन्।
पार्टीको कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम पुगेका प्रचण्डले बाढीपछि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताएका हुन्।
सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको तत्काल प्रयोग गरी खोज तथा उद्धार अघि बढाउन सके धेरैको ज्यान जोगाउन सकिने अवस्था रहेको उनले दाबी गरे। तर सरकारले त्यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको प्रचण्डको आरोप छ।
प्रचण्डले जलवायु परिवर्तनको विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा समेत जोड दिएका छन्। जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै जानु वातावरणीय विषय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको उनको भनाइ थियो।
‘यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाएँ,’ प्रचण्डले भने, ‘यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ।’
जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उनले बताए। यसको असर हिमाली क्षेत्रमा मात्र सीमित नरही मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता तथा समग्र अर्थतन्त्रमा समेत क्रमशः पर्दै गएको प्रचण्डको भनाइ थियो।
नेपालले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र त्यसका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आवश्यक सहयोग र साझा पहलका लागि प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा उनले जोड दिए।







