महाधिवेशन लक्षित गर्दै राप्रपाले तीव्र बनायो जिल्ला अधिवेशन

User Image Prime TV News ५ दिन अगाडि
Image of महाधिवेशन लक्षित गर्दै राप्रपाले तीव्र बनायो जिल्ला अधिवेशन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनको प्रक्रिया तीव्र बनाएको छ।

पार्टीका अनुसार हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी जिल्लाको अधिवेशन पनि भदौ मसान्तभित्र सम्पन्न गर्ने तयारी भइरहेको राप्रपाले जनाएको छ। राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने मिति यसअघि नै घोषणा गरिसकेको छ।

पार्टीले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको थियो। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार हालसम्म ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, इलाम, उदयपुर, झापा, मोरङ, सप्तरी, सिराहा, सर्लाही, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरमा अधिवेशन सम्पन्न भएको छ।

त्यस्तै चितवन, लमजुङ, मुस्ताङ, गोरखा, म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रोल्पा, गुल्मी, पाल्पा, बर्दिया, कपिलवस्तु, दाङ, रुपन्देही, मुगु, हुम्ला, सल्यान, रुकुम पश्चिम, दैलेख, डोटी र बैतडीमा पनि जिल्ला अधिवेशन सम्पन्न भइसकेको पार्टीले जनाएको छ।

बाँकी जिल्लामध्ये अधिकांशमा अधिवेशनको मिति तय भइसकेको छ। भदौ २५ गते कालिकोट, भोजपुर, बारा र दोलखामा जिल्ला अधिवेशन हुँदै छ। राप्रपाले स्थानीय तह हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको हो। पार्टीले स्थानीय तह र जिल्लामा अधिवेशन उत्साहजनक रूपमा भइरहेको दाबी गरेको छ।

महाधिवेशनको तयारीसँगै जिल्ला तहमा नयाँ नेतृत्व चयन तथा संगठन पुनर्गठनको प्रक्रिया पनि अघि बढिरहेको राप्रपाले जनाएको छ। जिल्ला अधिवेशन सम्पन्न भएपछि महाधिवेशन प्रतिनिधि चयनलगायतका प्रक्रिया अघि बढाउने तयारी पार्टीको छ।