ओमान विरुद्ध नेपालको शानदार जित

User Image Prime TV News ५ दिन अगाडि
Image of ओमान विरुद्ध नेपालको शानदार जित

काठमाडौ । स्पीन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ ।

नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २-२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए । देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।

नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६-४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९-५ हुँदै १४७ रनमा अलआउट नै भयो । ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए ।

मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए । नेपालले अब उपाधिका लागि यूएईसँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल जित्न सके नेपाल एसिया कपमा छनोट हुनेछ । सेमिफाइनल जितेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भने छनोट भएको छ ।