विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले सरकारी राहत तथा उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव र संसदीय तवरबाट आवश्यक सहजीकरण गर्न विशेष समिति गठनको माग गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयबारे जानकारी दिँदै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारले हालसम्म विशेष समिति गठन नगरेको भन्दै उक्त मागलाई निरन्तर उठाउने बताइन्।
‘विपद् व्यवस्थापनसित जोडिएका काममा सहयोग गर्न, राहत, उद्धार, खोजी र पुनर्स्थापनाजस्ता विषयमा सरकारलाई सहयोग गर्न तथा सरकारबाट भए–गरेका कामको निगरानी, अनुगमन र निरीक्षण गर्दै थप सुझाव दिन संसदीय विशेष समिति गठन गर्ने हामीले माग गरेका थियौँ,’ अर्यालले भनिन्, ‘अहिलेसम्म पनि गठन नभएको सन्दर्भमा हाम्रो मागलाई निरन्तर अघि बढाउने, सरकारको ध्यानाकर्षण गराउने र संसद्मा सशक्त रूपमा आवाज उठाउने निर्णय गरेका छौँ।’
बैठकले विपद्को समयमा उद्धार तथा खोजी कार्यमा खटिएका विभिन्न निकाय र उनीहरूले गरेको कामप्रति धन्यवादसमेत व्यक्त गरेको छ। यद्यपि, विपद्को पूर्वतयारी तथा सुरुआती चरणमा पर्याप्त सल्लाह, परामर्श र समन्वय हुन नसक्दा केही कमीकमजोरी देखिएको निष्कर्ष बैठकले निकालेको अर्यालले बताइन्।
जनताको धैर्यता टुट्न नदिन सरकारले तत्काल अस्थायी पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्नेमा पनि विपक्षी दलहरूले जोड दिएका छन्। राष्ट्रिय विपत्तिको अवस्थामा दलीय राजनीतिक स्वार्थ र एजेन्डालाई पन्छाउँदै सरकारसँग सहकार्य गर्ने साझा प्रतिबद्धता विपक्षी दलहरूले व्यक्त गरेका छन्।
विपद् प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा सरकारलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ छ।







