रसुवा बाढीमा १,३७७ जनाको मृत्यु, ५,१३० अझै बेपत्ता
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । रसुवा लगायतका प्रभावित जिल्लामा आएको बाढी तथा विपद्मा परी हालसम्म १ हजार ३७७ जनाको मृत्यु भएको छ भने ५ हजार १३० जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव फेला परेको छ।
नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको छ।
बेपत्ता हुनेमा रसुवा र नुवाकोट क्षेत्रका नागरिकको संख्या उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १०४ वटा शवको सनाखत गरिएको छ। विपद्पछि विभिन्न १९ अस्पतालमा ३३३ जनाको उपचार भइरहेको छ भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धारतर्फ हालसम्म १३ हजार ६५६ जनाको सफल उद्धार गरिएको छ।
उद्धार गरिएकालाई व्यवस्थापन गर्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित रहेका छन्। उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरी बलले २७२ वटा हवाई उडान गरेका छन्। ती उडानमार्फत प्रभावित क्षेत्रमा उद्धारसँगै राहत सामग्रीसमेत पुर्याइएको छ।
स्वास्थ्य उपचारतर्फ नेपाली सेनाले ३ हजार ५५९ र सशस्त्र प्रहरीले ३ हजार ६०६ जनालाई सेवा प्रदान गरेका छन्। खोज, उद्धार तथा सुरक्षाका लागि कुल २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्। सरकारले प्रभावित क्षेत्रमा तत्काल राहतका लागि रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। प्रभावित १५ स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा सडक तथा हवाईमार्गबाट खाद्य तथा गैरखाद्य सामग्री पठाउने कार्य जारी रहेको छ। खोज तथा उद्धारसँगै विस्थापितको व्यवस्थापन, उपचार र राहत वितरणलाई थप प्रभावकारी बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।







