प्रधानमन्त्री र सचिवालयको कार्यशैलीप्रति अमरेशकुमार सिंहको असन्तुष्टि
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह र उनको सचिवालयको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीको शासन व्यवस्था सल्लाहकारको प्रभावमा परेको आरोप लगाए। उनले सरकारको निर्णय प्रक्रियामा प्रधानमन्त्रीको सचिवालय हावी भएको भन्दै आपत्ति जनाएका हुन्।
‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्री शासन व्यवस्था छ, तर प्रधानमन्त्री शासन व्यवस्था सल्लाहकार शासन व्यवस्थामा परिवर्तन भएको छ,’ सिंहले भने, ‘संविधानको कुन दफा र कुन ऐनमा यो व्यवस्था छ मैले बुझ्न सकेको छैन।’
सरकारको केन्द्र सिंहदरबार हुनुपर्ने भए पनि अहिले ज्वागलबाट शासन सञ्चालन भइरहेको जस्तो देखिएको उनको टिप्पणी थियो। ‘सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिरहेको छ,’ उनले भने।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घर ज्वागलमा रहेको उल्लेख गर्दै सिंहले सचिवालयको भूमिकामाथि प्रश्न उठाएका थिए। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायका महानिर्देशकलाई बोलाएर हतियार देखाउँदै दुई घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न दबाब दिइएको भनिएको घटनासमेत प्रतिनिधि सभा बैठकमा उठाए।
सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामाको विषयमा पनि टिप्पणी गरे। उनले यादवले राजीनामा दिएको नभई बर्खास्तीमा परेको दाबी गरे। ‘गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो,’ उनले भने।
प्रधानमन्त्रीले असन्तुष्ट भए मन्त्रीलाई जुनसुकै बेला बर्खास्त गर्न सक्ने भए पनि मन्त्रीलाई पक्राउ गर्न प्रधानमन्त्री वा सचिवालयबाट निर्देशन जाने विषय गम्भीर रहेको सिंहको भनाइ थियो। ‘यो सचिवालयका केही साथीहरूको कुरा सुन्दा म झस्कन्छु कि म कुन देशको सांसद हुँ,’ उनले भने।







