राष्ट्रिय सभाको बैठकमा कानुनमन्त्री गौतमले मागिन माफी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा आफूले दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले आफ्नो अभिव्यक्तिबाट कसैको भावनामा चोट पुगेको भए क्षमायाचना गरेकी हुन्। ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु,’ उनले भनिन्।
भदौ २३ गते आयोजित कार्यक्रममा मन्त्री गौतमले कानुन निर्माणका क्रममा राष्ट्रिय सभाबाट असहयोग भएको आशय व्यक्त गरेकी थिइन्। उनको उक्त अभिव्यक्तिपछि राष्ट्रिय सभा सदस्यहरूबाट आपत्ति जनाइएको थियो।
मन्त्री गौतमले भने आफ्नो भनाइलाई गलत ढंगले व्याख्या गरिएको दाबी गर्दै बचाउ गरिन्। उनले आफूले राष्ट्रिय सभालाई होच्याउने उद्देश्यले कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारिन्। ‘जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा मैले तथ्यभन्दा बाहिर गएर केही बोलेकी छैन। मैले राष्ट्रिय सभाले असहयोग गर्यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन, माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन्।
कानुन निर्माण प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने प्रक्रिया भएकाले दुवै सदनबीच सहकार्य अनिवार्य रहेको मन्त्री गौतमको भनाइ थियो। ‘प्रतिनिधि सभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य छ,’ उनले भनिन्।
आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको उल्लेख गर्दै मन्त्री गौतमले त्यसबाट राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको भए दुःख व्यक्त गरिन्।
यद्यपि आफूले नबोलेका विषयको जिम्मेवारी लिन नसक्ने उनको स्पष्टोक्ति थियो। आगामी दिनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच सुमधुर सहकार्य गर्दै कानुन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता उनले जनाइन्। ‘मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु। हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ उनले भनिन्।
पछिल्लो समय कानुन निर्माणमा ढिलाइ भइरहेको गुनासो बढेको भन्दै मन्त्री गौतमले छिटोछरितो कानुन निर्माणका लागि संसद्का दुवै सदनबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।







