कांग्रेस एकताका लागि अझै नरम हुन तयार छु : सभापति थापा

User Image Prime TV News ४ दिन अगाडि
Image of कांग्रेस एकताका लागि अझै नरम हुन तयार छु : सभापति थापा

स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाउन आफू अझै नरम भएर अघि बढ्न तयार रहेको बताएका छन्।

कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा बिहीबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रका कमजोरी सुधार्न आवश्यक परे कठोर कदम चाल्नसमेत पछि नहट्ने बताए।

‘पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु,’ उनले भने, ‘नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीहरूलाई हटाएर निर्मम पनि भएर अगाडि बढ्नुपर्ने छ। त्यो सजिलो छैन, तर पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्छु।’

पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मेवारी आफूले बुझेको उल्लेख गर्दै थापाले सोहीअनुसार जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता जनाए। देशमा जटिल परिस्थिति उत्पन्न हुँदा नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै समस्या समाधानमा योगदान दिँदै आएको उनको भनाइ थियो।

आगामी दिनमा पनि कांग्रेसले नागरिकमा विश्वास र भरोसा जगाउने गरी काम गर्ने उनले बताए। स्वर्गीय गोपालमान श्रेष्ठले नेपाली कांग्रेसलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै थापाले पार्टीप्रति उनले पुर्‍याएको योगदानको चर्चा गरे।

विपद्को समयमा सरकारको आलोचना गर्ने उपयुक्त समय नभएको पनि सभापति थापाले बताए। शोकसभामा कांग्रेस महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतले स्वर्गीय श्रेष्ठले पार्टीमा पुर्‍याएको योगदान र उनले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए।