रसुवा बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि आवश्यक बजेटको विवरण सार्वजनिक गरेको हो।
प्रतिवेदनअनुसार सबैभन्दा ठूलो लगानी पूर्वाधार पुनरुत्थानमा आवश्यक पर्ने देखिएको छ। पूर्वाधार क्षेत्रको पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यो कुल पुनरुत्थान आवश्यकताको करिब ७५ प्रतिशत हो।
ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो क्षति
बाढीबाट ऊर्जा तथा विद्युत् प्रसारण प्रणालीमा ठूलो क्षति पुगेको प्रतिवेदनले औँल्याएको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना तथा २४ मेगावाट क्षमताका पाँच सौर्य ऊर्जा आयोजना प्रभावित भएका छन्।
ऊर्जा तथा ग्रिड प्रणालीलाई पुनःस्थापित गर्न मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। यातायात पूर्वाधारतर्फ ६९ किलोमिटर सडक क्षतिग्रस्त भएको छ। ३३ वटा मोटरेबल पुल बगेका छन् भने चारवटा पुलमा आंशिक क्षति पुगेको छ।
प्रभावित क्षेत्रमा रहेका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटामा समेत क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। समग्र यातायात पूर्वाधारको पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
७ हजार ५७० निजी घरमा क्षति
बाढीले सामाजिक तथा उत्पादनमूलक क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रतिवेदनले जनाएको छ।
यी क्षेत्रको पुनरुत्थानका लागि १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ। उत्पादनमूलक क्षेत्रअन्तर्गत कृषि, व्यापार, व्यवसाय र बैंकिङ क्षेत्रमा समेत उल्लेख्य क्षति पुगेको छ। यस क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।
बाढीबाट १ हजार ८०६ हेक्टर कृषि बालीमा क्षति पुगेको छ भने १७ बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित भएकामा नुवाकोटको विदुर नगरपालिकामा मात्रै ३ हजार २६ घरमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
नदी व्यवस्थापनमा पनि ठूलो रकम आवश्यक
विपद् जोखिम न्यूनीकरण तथा नदी व्यवस्थापनका लागि ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ। यस्तै, बाढीपछि थुप्रिएको लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतिवेदनले पुनर्निर्माण तथा पुनरुत्थानलाई दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणअन्तर्गत आगामी छ महिनाभित्र तत्काल राहत र अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
दीर्घकालीन पुनर्निर्माणका लागि भने ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ खर्च हुने आकलन गरिएको छ। यसरी तत्कालीन तथा दीर्घकालीन पुनर्निर्माणसहित रसुवा बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनरुत्थानका लागि कुल ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने सरकारको आकलन छ।







