एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज, बादलको पुनर्लिखित प्रतिवेदन पेस हुँदै
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक आज बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य डा. राजन भट्टराईका अनुसार बैठक बिहान ११ बजे बोलाइएको छ।
बैठकमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टी महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई पुनर्लेखन गरी तयार पारिएको प्रतिवेदन पेस गर्ने तयारी छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको पराजयको समीक्षा गर्न जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।
विभिन्न प्रदेश तथा पार्टीका विभागबाट राय सङ्कलन गरेपछि प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका सदस्य सचिवसमेत रहेका महासचिव पोखरेललाई दिइएको थियो।
पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी नेतृत्व तहमा समेत खोजिनुपर्ने र पार्टी पुनर्गठन तथा नेतृत्व हस्तान्तरणको विषय उठाइएको थियो।
उक्त मस्यौदाप्रति अध्यक्ष केपी शर्मा ओली पक्ष असन्तुष्ट बनेपछि कार्यदल संयोजक बादलले प्रतिवेदन पुनर्लेखन गरेको नेताहरूले बताएका छन्।
बादलको पुनर्लिखित प्रतिवेदनमा महासचिव पोखरेलको मस्यौदामाथि राजनीतिक तथा सैद्धान्तिक प्रश्न उठाउँदै निर्वाचनमा भएको पराजयलाई नेतृत्वको मात्र कमजोरीका रूपमा व्याख्या गर्न नहुने तर्क गरिएको छ।
प्रतिवेदनले २०८२ भदौ २३ र २४ गते भएका घटनापछि उत्पन्न राजनीतिक परिस्थितिलाई निर्वाचन परिणामको महत्वपूर्ण पृष्ठभूमिका रूपमा प्रस्तुत गरेको छ।
प्रतिवेदनमा तत्कालीन राजनीतिक घटनाक्रम, जेनजी आन्दोलन, संसद् विघटन र गैरदलीय सरकार गठनलगायत विषयलाई उल्लेख गर्दै त्यस परिस्थितिमा भएको निर्वाचनको परिणामलाई पार्टी अध्यक्षमाथि मात्र थोपर्नु उचित नहुने दाबी गरिएको छ।
बादलको प्रतिवेदनले अध्यक्ष ओलीको विगतको राजनीतिक भूमिकाको समेत प्रतिरक्षा गरेको छ। संविधान जारी गर्ने निर्णय, भारतीय नाकाबन्दीको समयमा लिएको अडान, चीनसँग भएको पारवहन सम्झौता, नेपालको नयाँ नक्सा प्रकाशन, भूकम्पपछिको पुनर्निर्माण तथा पूर्वाधार विकासमा ओलीको नेतृत्वलाई प्रतिवेदनले उल्लेख गरेको छ।
त्यस्तै, निर्वाचनमा पराजय भएको आधारमा तत्काल नेतृत्व परिवर्तनको बहस अघि बढाउँदा पार्टी थप कमजोर बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ। एमालेका विगतका नेताहरूले निर्वाचनमा पराजय व्यहोरे पनि तत्काल नेतृत्वबाट विस्थापित नगरिएको उदाहरणसमेत प्रस्तुत गरिएको छ।
महासचिव पोखरेल पक्षले उठाउँदै आएको ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पुस्तान्तरणको विषयमा समेत बादलको प्रतिवेदनले फरक धारणा अघि सारेको छ।
त्यस्ता बाध्यकारी प्रावधानले पार्टीको नेतृत्व चयनलाई सीमित गर्ने तर्क गर्दै प्रतिवेदनले क्याडरमा आधारित पार्टी संरचनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।
निर्वाचनपछि बनेको सरकारप्रति एमालेको तत्कालीन सचिवालयले लिएको भूमिकाबारे पनि प्रतिवेदनमा असन्तुष्टि जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह नेतृत्वको सरकारलाई छिट्टै बधाई दिएको तथा ओलीको गिरफ्तारीको विरोधमा पार्टीले पर्याप्त प्रतिरोध नगरेको विषयलाई समेत प्रतिवेदनमा उठाइएको बताइएको छ।







