बायर्न म्युनिखको सानदार सुरुवात, बोडो/ग्लिम्टमाथि ५–० को जित

User Image Prime TV News ४ दिन अगाडि
Image of बायर्न म्युनिखको सानदार सुरुवात, बोडो/ग्लिम्टमाथि ५–० को जित

काठमाडौ । बायर्न म्युनिखले बोडो/ग्लिम्टलाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।

गएराति भएको खेलमा बायर्नले नर्वेजियन क्लब बोडो/ग्लिम्टमाथि ५–० को शानदार जित दर्ता गरेको हो। जितसँगै बायर्नले लिग चरणमा आफ्नो अभियान प्रभावशाली रूपमा सुरु गरेको छ।

बायर्नको जितमा कप्तान ह्यारी केन, जमाल मुसियाला, अल्फोन्सो डेभिस र माइकल ओलिसेले गोल गरे। ओलिसेले दुई गोल गरे। दोस्रो हाफको सुरुवातमै मुसियालाले गोल गर्दै बायर्नलाई अग्रता दिलाए।

केनको प्रहार डिफ्लेक्ट भएर आएको बललाई उनले ४७औँ मिनेटमा गोलमा परिणत गरेका थिए। यो युरोपको शीर्ष क्लब प्रतियोगितामा बायर्नको ९००औँ गोलसमेत बन्यो।

६१औँ मिनेटमा केनले हेडरमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए। योसँगै च्याम्पियन्स लिगमा उनको गोल संख्या ५५ पुगेको छ। उनले ७१ खेलमा ५५ गोल पूरा गरेका हुन्।

च्याम्पियन्स लिगमा ५५ गोल पूरा गर्ने केन तेस्रो खेलाडी बनेका छन्। यसअघि एर्लिङ हालान्ड र रुड भान निस्टेलरयले यो आँकडा पार गरेका थिए। बायर्नका लागि ३९ खेलमा केनको यो ३४औँ युरोपेली गोलसमेत हो।

अल्फोन्सो डेभिसले ७७औँ मिनेटमा गोल गर्दै बायर्नलाई ३–० को अवस्थामा पुर्‍याए। त्यसपछि ओलिसेले ८३औँ मिनेटमा चौथो गोल गरे भने इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए।

बोडो/ग्लिम्ट खेलको ८७औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। गएराति नै भएको अर्को खेलमा कोमोले आरबी लाइपजिगलाई ४–१ तथा म्यानचेस्टर युनाइटेडले सबाहलाई ४–० ले पराजित गरेको छ।