हुङ्गा खोलामा पहिरोले १५ मिटरको ड्याम, तटीय क्षेत्रमा उच्च सतर्कता

User Image Prime TV News ४ दिन अगाडि
Image of हुङ्गा खोलामा पहिरोले १५ मिटरको ड्याम, तटीय क्षेत्रमा उच्च सतर्कता

सोलखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको छ।

स्थानीय प्रशासनका अनुसार खोलामा पहिरो खस्ने क्रम अझै जारी छ। खोला पहिरोले थुनिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हुङ्गा (हुङ्कु) खोला तथा दुधकोसी नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त जानकारीअनुसार गुदेलस्थित हुङ्गा खोलामा माथिबाट पहिरो खसेर खोलामा १५ मिटरको ड्याम बनेको जनाएको हो।

महाशाखाका अनुसार अहिले पनि थप पहिरो खसिरहेकोले खोलाको पानीको बहावमा अचानक परिवर्तन आउन सक्ने सम्भावना छ। त्यसैले हुङ्गा (हुङ्कु) खोला, दुधकोसी नदीको तटीय क्षेत्र तथा आसपास बसोबास गर्ने नागरिकलाई अर्को सूचना जारी नभएसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सम्भावित जोखिमबाट जोगिन स्थानीयवासीलाई खोला तथा नदी किनारमा नजान र सम्बन्धित निकायबाट जारी हुने सूचनामा ध्यान दिन आग्रह गरिएको छ।