चिलिमे जलविद्युत् केन्द्रमा उद्धार प्रयास तीव्र, सुरुङ भित्रबाट इको सुनिएपछि आशा बढ्यो

User Image Prime TV News ४ दिन अगाडि
Image of चिलिमे जलविद्युत् केन्द्रमा उद्धार प्रयास तीव्र, सुरुङ भित्रबाट इको सुनिएपछि आशा बढ्यो

काठमाडौ । चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्‌गृहमा फसेका कर्मचारीहरूको उद्धारका लागि सुरुङ सफा गर्ने काम तीव्र पारिएको छ।

विद्युत्‌गृह प्रवेश गर्ने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा थुप्रिएको लेदो, बालुवा तथा ढुंगा हटाएर उद्धार टोली अघि बढिरहेको छ। उद्धार कार्यमा सहभागी पूर्वऊर्जामन्त्री कुलमान घिसिङका अनुसार टोलीले लेदोको भाग छिचोल्दै सुरुङभित्र निरन्तर प्रगति गरिरहेको छ।

सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको प्रतिध्वनि (इको) सुनिएको र सोही स्थानबाट चिसो हावासमेत आइरहेको उनले बताएका छन्। यसले सुरुङभित्र फसेका कर्मचारी जीवितै रहेको हुनसक्ने आशा थप बलियो बनाएको घिसिङको भनाइ छ।

उनका अनुसार अब विद्युत्‌गृहसम्म पुग्न करिब १०० मिटर दूरी बाँकी रहेको जानकारी उद्धार टोलीले दिएको छ। घिसिङले उद्धारका क्रममा प्रत्येक मिटरको प्रगति र प्राप्त हुने संकेतले आशा जगाइरहेको बताएका छन्।

यसैबीच, स्याफ्रुबेँसीतर्फबाट स्केभेटर सुरुङसम्म पुर्‍याउन बाटो निर्माणको काम पनि तीव्र पारिएको छ। घिसिङका अनुसार आजसम्ममा स्केभेटर सुरुङसम्म पुग्ने सम्भावना छ। स्केभेटर र लोडर पुगेपछि सुरुङ सफा गर्ने तथा उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ। उद्धार टोली उच्च मनोबलका साथ चौबिसै घण्टा खटिरहेको जनाउँदै घिसिङले उद्धार सफल हुने विश्वास व्यक्त गरेका छन्।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी सहभागी छन्। उद्धार कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति घिसिङले आभार व्यक्त गरेका छन्।

चिलिमे जलविद्युत् कम्पनीका पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युत्‌गृह सञ्चालनको अनुभवका आधारमा आफूले उद्धार टोलीलाई प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको घिसिङले बताएका छन्।

‘उद्धारमा खटिनुभएका सबैको अथक प्रयास सफल होस् र सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस्’ भन्ने कामना गर्दै उनले उद्धार टोलीको प्रयासप्रति सम्मान व्यक्त गरेका छन्।