प्रधानमन्त्री बालेनलाई गगन थापाको टिप्पणी : ‘निजी क्षेत्र हेर्नै मन पर्दैन’
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको टिप्पणी गरेका छन्।
शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ विषयक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र मन नपर्ने आफूले बुझेको बताएका हुन्। ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ थापाले भने, ‘मेरो आफ्नो बुझाइमा उहाँ निजी क्षेत्रप्रति नै नकारात्मक हुनुहुन्छ।’
थापाले प्रधानमन्त्रीबारे आफ्नो टिप्पणी अनुमानका आधारमा नभएको दाबी गरे। प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति तथा केही निर्णयलाई आधार बनाएर आफूले यस्तो धारणा राखेको उनले स्पष्ट पारे। उनले दुग्ध विकास संस्था, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सार्वजनिक संस्थानका विषयमा सरकारले गरेका निर्णयलाई उदाहरणका रूपमा प्रस्तुत गरे।
थापाले सार्वजनिक संस्थान सञ्चालनमा आउनुपर्ने र मुनाफा कमाउनुपर्ने पक्षमा आफ्नो शुभेच्छा रहेको स्पष्ट पार्दै ती संस्थानका विषयमा आफूले टिप्पणी नगरेको बताए। उनका अनुसार बहस सार्वजनिक संस्थान चलाउने वा नचलाउनेभन्दा पनि सरकारको निजी क्षेत्रप्रतिको समग्र दृष्टिकोणबारे हुनुपर्ने देखिन्छ।







